बुटवल,२५ जेठ ।
रूपन्देहीमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको साविक मर्यादपुर गाविस-२, का वीरेन्द्र जैयसवाल रहेका छन् ।

१२ वर्षदेखि फरार रहेका जैयसवाललाई शुक्रबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार स्थानीय राजु हरिजनको जाहेरी अनुसार कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत रुपन्देहीले २०६८ कार्तिक २८ गते दुई वर्ष कैद फैसला सुनाएको थियो । उक्त दुई वर्ष कैद असुल गरेर जैयसवाल मुक्त भएका थिए ।

जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि पीडित परिवारले तत्कालीन पुनरावेदन अदालत बुटवलमा फैसला पुनरावेदनका लागि निवेदन दिएका थिए ।

साविक पुनरावेदन अदालत बुटवलले २०६९ पुस १५ गते जिल्ला अदालतको फैसला उल्टाएर प्रतिवादी जयशवाललाई १० वर्ष कैद फैसला सुनाएको थियो । पुनरावेदन अदालतको फैसलाविरुद्ध प्रतिवादी सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले पनि २०७६ जेठ २७ गते पुनरावेदनको फैसला सदर हुने फैसला सुनाएको थियो । अदालतले कैद सजाय सुनाए पनि प्रतिवादी जयसवाल जिल्लामा स्वतन्त्रत हिँडडुल गरिरहेका थिए ।

फैसला कार्यन्वयन सिलसिलामा जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर प्रहरीले प्रतिवादीलाई पक्राउ गरिएको एसपी राठौरले बताए । उनका अनुसार प्रतिवादीले यसअघि दुई वर्ष असुल कैद कटाएर आठ वर्ष कारागारमा बिताउनु पर्नेछ । बालक हत्या गरेको अभियोग जयशवाल बिरूद्व मुद्दा परेको हो ।