काठमाडौ,२५ जेठ ।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
घुस (रिसवत) लिएर भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र रीतेन्द्र थापाको इजलासले बिहिबार सुनुवाई गर्दै योजना प्रमुख भट्टराईलाई दोषी ठहर गरेको हो।
भट्टराईलाई दोषी ठहर गर्दै इजलासले सजाय निर्धारणको लागि यही जेठ ३१ गतेका लागि पेसी ताेकेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध गत चैत २५ गते दायर गरेको भ्रष्टाचार मुद्दाको सुनुवाई गर्दै विशेष अदालतले मुद्दा दायर भएको दुई महिनामै फैसला सुनाएको हो ।
इन्जिनियर भट्टराईले पदीय दुरुपयोग गरी लुम्बिनी विकास कोषको गुरु योजना अन्तर्गतको ठेक्का सम्झौता गर्दा ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारले आरोप लगाएको छ ।
भट्टराईले ठेकेदारसँग घुस लिएको पैसाबाट आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु गाविस–३ मा २ रोपनी ९ आना २ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७४ र २ आना १ पैसा क्षेत्रफल जग्गा कित्ता नम्बर १३७५ को जग्गा खरिद गरेकाे अख्तियारकाे दाबी छ ।
जग्गा खरिद प्रकरणमा जग्गाको रकम सिधै ठेकेदारबाट तिराएको भन्दै अख्तियारले उनी बिरुद्ध मुद्दा दायर गरेको थियो ।
अख्तियारले दाबी गरे बमोजिम नै भट्टराईले सो जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण ब्यवसायीसँग घुस लिएर त्यो जग्गा किनेको अदालतले ठहर गरेको छ । फैसलामा खरिद गरेको जग्गा जफत हुने उल्लेख छ ।
अख्तियारले जग्गा खरिद गर्दा ठेकेदारको बैंक खाताबाट जग्गा बिक्रेताको बैंक खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी जम्मा ८० लाख रुपैयाँ जम्मा भएको विवरण प्रमाणकारुपमा पेश गरेको थियो । जग्गा खोजिदिने व्यक्तिले पनि ३८ लाख ७ हजार २ सय रुपैयाँ जग्गा बिक्रेताको खातामै पठाएका थिए । उक्त रकम घुसवापत लिएको अख्तियारकाे दाबी छ ।
३ वर्षभन्दा बढी कैद हुने अपराधमा अदालतले कसुर ठहर गरेपछि सजाय निर्धारणका लागि बेग्लै सुनुवाइ गर्ने कानुनी व्यवस्था रहेको छ ।
लुम्बिनी विकास कोषको वरिष्ठ इन्जिनियर पदको दरबन्दीमा नियुक्ती लिएका भट्टराईले विगत ७ वर्षदेखि योजना प्रमुखको रूपमा काम गर्दै आएका थिए । राजनीतिक कारणले बेलाबेलामा रिक्त हुने गरेको सदस्य सचिवको जिम्मेवारी समेत राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर भट्टराईले चलाउँदै आएकाे आराेप समेत उनिमाथी लाग्दै आएको थियो ।






