काठमाडौं,२४ जेठ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दिप लामिछानेको भिसाका लागि सरकारले उचित पहल नगरेको बताएका छन् । बिहीबार बसेकाे प्रतिनिधि सभाकाे विशेष समयमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनिएको भएता पनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको उनले बताए ।

‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रनुहुन्न हामी कैयौंले भन्यौं । तर, सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यसबेला सन्दीप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो’ महामन्त्री शर्माले भने ।

लामिछानेको भिसाका लागि खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारले समयमै उचित पहल नगरिदिएको उनको टिप्पणी छ ।

उनले भने, ‘आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसुचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो । यसमा कमजोरी कहाँ रह्यो ? किन कमजोरी भयो ? खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको यसबारेमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनलेे काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई काम गर्न दिन आग्रह गरेका छन् । सांसद शर्माले सङ्घ सरकार स्थानीय सरकारसँग संवेदनशील हुनुपर्ने बताए ।

सांसद शर्माले भने–‘सङ्घ सरकार र स्थानीय तहबिचको द्वन्द्वमा सबैभन्दा बढी संवेदनशील सङ्घ सरकार हुनुपर्दछ । न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए । बालेनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । कुनैपनि प्रकारको हस्तक्षेप गर्ने तरिकाबाट सङ्घ सरकार फिर्ता हुनुपर्छ ।’

सांसद शर्मासँग एमाले अध्यक्ष केपी ओलीले पौठेजोरी खेलेको भन्दै त्यो स्वभनीय नभएको बताए । त्यही तहमा रहेका पार्टीका नेता वा आफ्ना उपप्रमुख मार्फत भन्न लगाउँदा हुने कुरामा आफैँ जोरी खोज्न अघि बढ्नुले शोभा नदिएको उनले बताए ।