काठमाडौं,१७ जेठ ।
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ ।

भिसाका लागि बिहीबार साढे ४ बजे अन्तर्वार्ता दिन अमेरिकी दूतावास गएका सन्दिपलाई अमेरिकाले भिसा दिन पुनः अस्वीकार गरेको हो ।

यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । नेपाल सरकारले सन्दीप टी-२० विश्वकप खेल्नुपर्ने भएकोले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

सन्दीपलाई अमेरिकाको भिसा दिनुपर्ने भन्दै बुधबार काठमाडौंको माइतीघरमा केही युवाहरुले प्रदर्शन समेत गरेका थिए ।

टी-२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।

२ जेठमा उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपको निलम्बन फुकुवा गरेको थियो र उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो ।

उनलाई भिसा नदिनुकाे कारण भने केही खुलाइएको छैन ।