काठमाडौँ,१५ जेठ ।
सहकारी ठगी प्रकरण तथा समग्र समस्याबारे छानबिनका लागि प्रतिनिधि सभाबाट संसदीय छानबिन विशेष समिति गठन भएको छ ।
मंगलबार साँझ बसेको प्रतिनिधि सभाकाे बैठकले नेकपा एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा सात सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको हो ।
समितिमा कांग्रेस र एमालेबाट दुई–दुई र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद रहेका छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री रहेका छन् ।
यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल,राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको हो । समितिलाई रवि लामिछाने जोडिएका सहकारी लगायतका अन्य २९ वटा संकटग्रस्त सहकारीहरूको छानबिनका लागि कार्यादेश दिइएको छ ।
छानबिन समितिलाई ३ महिनाको समय दिइएको छ ।






