काठमाडौं,१५ जेठ ।
सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा कर्मचारीको तलबमान बारेमा कुनै उल्लेख गरेनन् ।
पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम गरिएको थियो ।
अहिले सरकारी कर्मचारीको तलब न्युनतम् २६ हजार ३४८ र अधिकतम् ८२ हजार ३५९ रुपैयाँसम्म छ । आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारले सबै सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको थियो । आगामी वर्षको बजेटले तलब सुविधा वृद्धिबारे कुनै घोषणा नगरेपछि सोही तलब कायम हुने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले सरुवालाई अनुमानयोग्य बनाउने घोषणा गरेका छन् । सार्वजनिक सेवालाई मुहमाररहित र कागजरहित बनाउने घोषणा पनि भएको छ । सेवाग्राहीको गुनासो सुन्ने र समबोधन गर्ने व्यवस्थाका लागि ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ सञ्चालनको घोषणा पनि बजेटले गरेको छ ।
सरकारी खर्चमा मितव्ययिता कायम गर्ने र विदेशमा हुने कार्यक्रममा सकेसम्म सम्न्धिकत देशको नेपाली दूतावास र नियोगबाट नै सहभागी गराउने व्यवस्था मिलाउने पनि बजेट वक्तव्यमा उललेख छ ।
त्यस्तै सरकारले आगामी बर्षकाे बजेटमा सामाजिक सुरक्षा भत्ता पनि बृद्वि गरेको छैन ।






