काठमाडौँ,१५ जेठ ।
सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यो कूल बजेटको ६१.३१ प्रतिशत हो । विनियोजन कूल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ । यो कूल बजेटको १८.९४ प्रतिशत छ ।
यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ । यो १९.७४ प्रतिशत हो । यो खर्च अनुमान चालू वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो । र, संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशत बढी हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठुलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँको घाटाको बजेट ल्याएको हो ।
विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) विनियोजन गरेको छ ।
तर यता खर्च व्यहोर्ने स्रोतका रूपमा सरकारले आगामी आर्थिक वर्ष राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ व्यहोर्ने र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यवस्था गरिने बताएको छ । यसोगर्दा अपुग हुने ५ खर्ब ४७ अर्ब ६७ करोडमध्ये वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ व्यहोर्ने र आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाइने सरकारकाे लक्ष छ ।






