सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था

काठमाडौं,१५ जेठ ।
सूचना प्रविधि सम्बन्धी कम्पनीलाई सरकारले निःशुल्क कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ ।

काठमाडौं र बुटवलमा सरकारी भवनलाई सूचना प्रविधि पार्क बनाउने र त्यहाँ आईटी कम्पनीहरूलाई तीन वर्षसम्म निःशुल्क वर्कस्टेसन बनाउने सरकारले बजेटमार्फत घोषणा गरिएको हो ।

ती आईटी पार्कमा आईटी उद्योगका लागि सबै किसिमको पूर्वाधार उपलब्ध हुने पनि बजेटमा घोषणा गरिएको छ ।

ललितपुर खुमलटारमा ज्ञान पार्क स्थापना गरिने पनि घोषणा गरिएको छ ।

त्यस्तै स्वदेशमा उत्पादित सफ्टवेयर सरकारी निकायले प्राथमिकतासाथ प्रयोग गर्ने घोषणा पनि अर्थमन्त्री पुनले गरेका छन् ।

देशका सबै वडा र सामुदायिक विद्यालयमा इन्टरनेटमा पहुँच पुर्‍याउने घोषणा पनि गरिएको छ ।

सरकारले आगामी सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई सूचना प्रविधि उद्योगमा इन्टर्नको व्यवस्था मिलाइने घोषणा गरेका हुन् ।

सरकारले स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने गरी व्यवस्था गरिने र सरकारी डाटा सेन्टरको स्तरोन्ति गर्ने भएको छ ।

निजी क्षेत्रबाट सञ्चालित डाटा सेन्टरको लागि भने मापदण्ड तयार गर्ने भएको छ । विद्युत्तीय डाटा भण्डारण र उपयोगलाई व्यवस्थित गरिने अर्थमन्त्री पुनले बताए ।