गुल्मी,१४ जेठ ।
सुख्खा पहिरोका कारण कालिगण्डकी करिडोरको गुल्मी-बागलुङ सडक खण्ड अबरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मिको कालिगण्डकी गाउँपालिका वडा नं.६ बरलवाको भीरमा भीषण पहिरो खसेपछि आईतबार रातीदेखि सडक अवरुद्ध भएको हो ।
पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुंगा–अर्वेनी सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । यसअघी फागुन ११ र २६ गते पनि सोही ठाउँमा सुख्खा पहिरो खसेर कोरिडोर एक साता बन्द भएको थियो ।
बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतीको काम भैरहेको छ ।
काम चलिरहेकै बेला आईतबार रातको समयमा पहिरो खसेपछि सडक अबरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए ।
पहिरो पन्छाउन आयोजना र निर्माण कम्पनीले सोमबार बिहानैदेखि काम थालेकाे उनलेे बताए ।
भिरालो जमिन रहेको उक्त स्थानमा बेला बेलामा सुख्खा पहिरो जाने गरेको छ ।






