काठमाडौँ,१४ जेठ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सरकारले वरिष्ठ सहसचिव कमल प्रसाद भट्टराईलाई दिएको छ ।

केही समय अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । भट्टराइले सोमबार नै विभागमा पुगेर पदबहाली गरेका छन् ।

कुशल प्रशासकको छवि बनाएका भट्ट्राईले प्रशासन, कूटनीति र आर्थिक क्षेत्रमा दक्खल राख्छन् । यस अघि उनले हङकङमा रहेर महावाणिज्यदूतको भूमिका प्रभावकारी रुपमा निर्वाह गरिसकेका थिए । त्यसपछि उनले अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागको महानिर्देशकको रुपमा काम गरिसकेका छन् ।

त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, कोशी प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालयमा रहेर कार्य गरिसकेका थिए भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लामो समयसम्म प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।