काठमाडौँ,२३ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षले वेलमा नाराबाजी गरिरहेको बेला नीति तथा कार्यक्रम पारित भएको हो ।
त्यसअघि कांग्रेसको नाराबाजीकैबीच नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा छलफल भएको थियो । नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संशोधन राखेका थिए । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका थिए ।
सुवाल र केसीको संशोधन बहुमतले अस्वीकृत गर्दै नीति तथा कार्यक्रम पारित भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।






