काठमाडौँ,१२ जेठ ।
यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ५२ जना चालक कारबाहीमा परेका छन् ।
काठमाडौँको बाफलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५२ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
५६ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ५२ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्ने उदेश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली काठमाडौँको शुक्रबार बाफल क्षेत्रमा खटिएको थियो ।






