काठमाडौं,१० जेठ ।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले प्रथम सिएचआईटीएफ
एशियन तेक्वान्दो प्रतियोगिता भोलिदेखि काठमाडौंमा हुने भएको छ ।
महासंघले बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गरी प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दा प्रतियोगिता भोलि जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरको कराँते महासंघ एकडेमी, सातदाेबाटामा गर्ने जानकारी गराएको हो ।
प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने र समापन युवा तथा खेलकुद मन्त्री विश्वभक्त श्रेष्ठले गर्ने आयाेजकले जनाएका छन् ।
नेपाल सीएचआईटीएफ तेक्वान्दो विभिन्न गतिविधि अन्तर्गत परिवर्तन, विकास र समृद्धि ल्याउनका लागि संघको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरिरहेको अवस्था तेक्वान्दो खेलको विकास र विस्तार गरी युवा खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्यले प्रतियोगिताको आयोजना गर्न लागेको संघले जनाएको छ ।
महासंघका अनुसार तेक्वान्दो प्रतियोगितामा नेपाल, मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका, सिंगापुरका करिब २ हजार ५ सय खेलाडीहरु सहभागी हुनेछन् ।
प्रतियोगितामा एकल स्पाईरिङ, एकल काँटा र समूह काँटा गरि तीन समूहमा प्रतिस्पर्धा गरिने आयोजक नेपाल चान हुन अन्तरराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुलबहादुर बुढामगरले जानकारी दिए ।
बिजेता खेलाडीहरुले ८५ स्वर्ण पदक, ८५ रजत पद र ११६ काँस्य पदक प्राप्त गर्नेछन् । साथै बिजेता प्रथम, द्धितिय र तृतीय टिमले एक एक वटा ट्रफि हात पार्ने महासंघका महासचिव रमेश विश्वकर्माले बताए ।
भोलिदेखि हुने खेलका लागि विभिन्न राष्ट्रबाट खेलाडीहरु नेपाल
आइसकेको र तयारी पनि पूरा भएको आयोजक अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले जनाएको छ ।






