काठमाडौं,८ जेठ ।
नेपाली कांग्रेस सांसदहरूकाे नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरूले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

सभामुख घिमिरेले धन्यवाद प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा विपक्षी दलका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने सत्तारुढ सांसदहरु मात्र आआफ्नो सिटमा बसेका थिए । तर सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गरे ।

आजकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले संघीय संसदको बैठकमा पेश गरेको सम्बोधनको प्रति प्रतिनिधिसभामा टेबल गरेका छन् । उनलाई रोष्ट्रममा जाने बेलामा सभामुखले आवश्यक सुरक्षा व्यवस्था गर्न मर्यादापालकलाई निर्देशन दिएका थिए ।

त्यस्तै आजकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् ।