काठमाडौँ,७ जेठ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा बिचौलिया हाबी भएको स्वीकार गरेकी छन् ।
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा मन्त्री साहले कृषि क्षेत्रमा बिचौलिया हाबी भएको स्वीकार गर्दै बिचौलिया हाबी हुँदा चाहेअनुसार नतिजा दिन नसकिएको बताएकी हुन् । ‘हामी सबै इफोर्ट लगाएर काम गर्न खोजेका छौँ तर पनि रिजल्ट नआउँदा निराशा छाएको छ’ उनले भनिन् ।
कृषि मन्त्रालयलाई कर्मचारीहरूबाट पनि सहयोग नभएको उनको गुनासो छ । ‘मन्त्रालयमा आन्तरिक द्वन्द्व, व्यक्तिगत स्वार्थ र बिचौलिया हाबी भए’ साहले भनिन् । कृषि मन्त्रालयले कोही पनि नागरिक भोकै नरहने गरी आधुनिक प्रविधिमार्फत काम गरेर उत्पादनमा प्रचुरता ल्याउन खोजेको उनको दाबी छ ।
‘देशका कोही पनि नागरिक भोकै नरहोस् बनेर खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन ऐन बनाएको हौँ, त्यसको पूर्ण कार्यान्वयन गर्छौँ’ उनले भनिन् । उनलेे बाँझो जमिन राख्नेलाई स्थानीय तहले दण्डित गर्ने व्यवस्था गर्नुपर्ने बताइन् ।
‘बाँझो जमिन कि लिजमा दिनुपर्यो, कि खेती गर्ने किसानलाई दिनुपर्यो, अनि मात्रै उत्पादन बढ्छ’ उनले भनिन् ‘गाउँमा जमिन बाँझो राखेर काठमाडौँ बस्ने अनि अरूलाई खेती गर्न नदिनेहरूलाई दण्डित गर्नुपर्छ’ साहले भनिन् । कृषि सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्नकै लागि
कृषि मन्त्रालयले ऐन बनाएको उनको भनाइ थियो ।








