झाराटार्ने संसदीय समिति स्वीकार नगर्ने कांग्रेसको अडान
काठमाण्डाै,६ जेठ ।
सहकारी ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको
कार्यादेश बारेमा दलहरूबीच आज पनि सहमति हुन सकेको छैन ।
बिहानैदेखि दुईपक्षीय र बहुपक्षीय छलफल भए पनि दलहरूबीच सहमति हुन नसकेको हो । छानबिन समिति बनाउनका लागि कार्यादेश तय गर्न दलहरूबीच हिजै कार्यदल गठनको सहमति भएको थियो । तर कार्यदलले आज पनि कार्यादेश टुङ्गो लगाउन सकेकाे छैन ।
नेपाली कांग्रेसले संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेकै नाम जोडेर अनुसन्धान हुनुपर्ने अडान लिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने लामिछानेको नाम उल्लेख हुन नहुने र समस्याग्रस्त सबै सहकारीको एकमुष्ट छानबिन हुनुपर्ने बताएको छ ।
दलहरूबीच सहमति हुन नसक्दा आज पनि संसद् बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सरेको थियो तर ४ बजे पनि सहमति हुन नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
सहकारी ठगीकाे बिषयलाई लिएर नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ ।
आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् । सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको उनले उल्लेख गरे ।
‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ । त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ । सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो । संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन’ लेखकले भने । उनले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने भन्ने कुरा उल्लेख गरेर जानुपर्ने आफूहरूको धारणा रहेको बताए ।
‘जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाउँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोग भएको छ । त्यसमा उपप्रधान एवं गृहमन्त्रीकै नाम जोडिएकाले कांग्रेसले मुद्दा उठाएको छ, सर्वत्र कुरा उठेको छ भने के हो यसको बारेमा पनि छानबिन गरेर जाउँ भन्ने हो । उहाँहरुको कुरा जिम्मेवारपूर्ण आएन ।’
यसैबीच दलहरूबीच सहमति नजुटेकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची पनि प्रभावित हुने देखिएको छ । जनता समाजवादी पार्टी नेपाल फुटेपछि उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । त्यसैले भोलि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । तर आजसम्म दलहरूबीच सहमति नजुटेकाले भोलि प्रचण्डले विश्वासको मत लिने कार्यसूची नै प्रभावित हुने देखिएको हो ।
डेढ वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले भोलि चौथो पटक विश्वासको मत लिन लागेका थिए ।








