काठमाडौँ,६ जेठ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठकमा सहमति नजुट्दा संसदको बैठक प्रभावित भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक जारी रहेको छ ।

शनिवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकपनि मिसिएका छन् ।

अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउँदै आएको छ ।

नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले उनीमाथि पनि छानबिन हुनुपर्ने माग गर्दै आएको छ ।

कार्यदलमा अहिलेसम्म सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिए पनि अझै सुरु हुन सकेको छैन ।