काठमाडौँ,५ जेठ ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले
राजनीतिमा युवा सहभागिता बढाउन राजनीतिक दलहरु सुध्रिनुपर्ने बताएकी छन् ।
पछिल्लो समय राजनीतिप्रति युवाहरूमा वितृष्णा बढ्दै गइरहेको भन्दै उनलेे राजनीतिक दलहरु सुध्रिन आवश्यक रहको बताइन् ।
शनिबार नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै एमाले नेतृ समेत रहेकी डङ्गोलले जोस र जाँगर भएका युवाहरूले राजनीतिक दलहरु मात्र नभई हरेक क्षेत्र हाँक्न सक्ने बताइन् ।
उनले भनिन्, ‘युवामा जोस जाँगर छ, युवा सचेत छन् भने राजनीतिक रुपमा मात्र हैन हरेक क्षेत्र हाँक्न सक्छन् भन्ने विश्वास मैले लिँदै आएको छु । अब आउने पुस्तामा विश्वास गर्दै हामीले हरेक क्षेत्रमा युवालाई अगाडि सार्न विश्वास गर्नुपर्दछ । युवाहरुको राजनीतिप्रतिको वितृष्णा हटाउन राजनीतिक दलहरु सुध्रिन आवश्यक छ । धेरै क्षेत्रमा युवाहरू एकदम सहभागिता कमजोर हुन दिनुहुँदैन ।’
पुराना पार्टी र पुराना नेताहरू भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै डङ्गोलले नेता बुढो भएपनि पार्टी बुढो नहुने बताइन् । पार्टीलाई बुढो हुन नदिन राजनीतिक दलहरुमा युवा सहभागिता बढाउन आवश्यकता औल्याइन् ।








