काठमाण्डौ,५ जेठ ।
तराई मधेशका जिल्लामा अझै केही दिन तातो हावाको लहर चल्ने सम्भावना रहेको माैसमविदले बताएका छन् । हाल तराईमा गर्मी बढ्दो क्रममा रहेको छ । खास गरी लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका धेरैजसो ठाउँमा तापक्रम ४० डिग्री नाघेको जल तथा मनैसम विज्ञान विभागकाे माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियभन्दा माथी पुगेको छ ।
वैशाखको अन्तिम हप्ता पानी परेपछि उखरमाउलो गर्मी घटेर राहत मिलेको तराई मधेशमा फेरि गर्मी बढेको हो । गर्मी बढेसँगै तराई मधेशको जनजीवन कष्टकर बनेको छ । उखरमाउलो गर्मीका कारण घर बाहिर निस्कनै समस्या भएको स्थानीयबासिन्दाले बताएका छन् ।
गर्मीका कारण ज्वरो, झाडापखाला लगायतका समस्यासँगै पछिल्लो समयमा दमका बिरामीसमेत बढेका नेपालगञ्ज स्थित भेरी अस्पतालका डाक्टर संकेतकुमार रिसालले बताए । गर्मीका कारण शरीरमा पानी कमी भएर रिँगटा लाग्ने र मुर्छा परियलाजस्तो हुने, मुटुको ढुकढुकी बढ्ने, शरीरले छालाबाट ताप फाल्दा रातो डाम देखापर्ने, पसिना धेरै आउने, रगतको प्रवाह बढ्दा कुर्कुचा सुन्निने जस्ता लक्षणहरु देखा पर्छन् । गर्मीले शरीरलाई हानी गर्ने भएकोले सावधानी अपनाउनुपर्ने डाक्टर रिसालको सुझाव छ ।
आज देशका पहाडी केही क्षेत्रको मौसम बदली छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले बताए । नेपालमा अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।








