नवलपुर,२ जेठ ।
नेपाल विद्यार्थी संघ नवलपुरले गृहमन्त्री रवी लामिछानेलाई पदमुक्त गरी संसदीय छानबिन समिती बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघ नवलपुरका सभापति हरिवंश सुवेदीको नेतृत्वमा नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय पुगेको नेविसंघ नवलपुरले मंगलबार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा सहकारी ठगी प्रकरणमा मुछिएका माननीय गृहमन्त्री लामिछानेलाई पदमुक्त गरी संसदीय छानविन समिति गठन गर्न माग गरिएको छ ।

त्यसै नेविसंघले ज्ञापनपत्र मार्फत सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न, सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न,विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एवं संशोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागु गर्न माग गरिएको नेविसंघ नवलपुरका सभापति हरिवंश सुवेदीले जानकारी दिए ।