काठमाण्डौ,१ जेठ ।
सरकारको आउँदो आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुचि रहेको छ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

नीति तथा कार्यक्रमका प्रस्तुत गर्ने सम्पूर्ण तयारी पूरा भएको
संसद् सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा,९५ बमोजिम आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

नीति तथा कार्यक्रम वाचन गरिसकेपछि राष्ट्रपतिलाई बिदाइ गरिनेछ । राष्ट्रपतिको बिदाइपछि अर्को बैठकमा प्रधानमन्त्रीले संयुक्त बैठकमा नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने कार्यसूची छ । राष्ट्रपतिलाई धन्यवादसहित नीति तथा कार्यक्रम टेबल गर्न प्रतिनिधिसभाको बेलुका ६ बजे र राष्ट्रिय सभाको साढे ५ बजे दोस्रो बैठक राखिएको छ ।

सुशासन, समृद्धि, सामाजिक न्याय, रोजगारी र अर्थतन्त्रको सुधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आउने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा निरन्तर अवरोध गर्दै आएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेसले केही लचकता देखाए पनि त्यसपछिका प्रक्रिया सहज बनाउन सरकारमाथि दबाब कायमै छ । मध्यमार्गी सहमति जुटाएर सदन चलाउन प्रधानमन्त्री प्रचण्डले निरन्तर पहल गरे पनि अहिलेसम्म ठोस प्रगति भएको छैन ।

राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, तर सत्तापक्ष सहमतिमा नआए त्यसपछिको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । हिजो बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संसदीय छानबिन समिति गठनको माग कायमै राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।

यसैबीच सहकारी ठगी बिरूद्व नेपाल महिला संघले आज राजधानी काठमाडौंमा बिराेध प्रदर्शन गर्ने तयारी गरेको छ भने तरूण दलले बुधबार बिराेध प्रदर्शनकाे घाेषणा गरेको छ ।