काठमाडौँ,३१ बैशाख ।
आज पनि देशभरकाे माैसम आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु,पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने माैसमविदले बताएका छन् ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू तथा मधेस र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।