काठमाडौ,३० बैशाख ।
आज पनि लुम्बिनी सहित चार प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभाव अहिले देशका विभिन्न प्रदेशमा देखिएकाे छ ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहि केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार भोलि देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





