बुटवल,२८ बैशाख ।
बुटवलको कालिकानगर स्थित चौराह अस्पतामा उपचारको क्रममा लापरवाही गरेको भन्दै विरामीका आफन्तहरुले शुक्रबार घेराउ गरेका छन् । रुपन्देही तिलोत्तमा–२ का किरण थापाको उपचार गर्ने क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरुले क्षतिपूर्तिको मागसहित अस्पताल घेराउ गरेका हुन् ।
५ महिना अघि गत मंसिर २७ गते साँझ स्कुटर दुर्घटनमा परी चौराह अस्पतालमा उपचार गराउन पुगेका किरणको खुट्टा फ्याक्चर भएको देखिएपछि चिकित्सकले अप्रेशन गरेका थिए ।
मंसिर २८ गते अप्रेशनपछि ५ दिनसम्म अस्पतालमै बसेका किरण घर फर्किएर करिब २ साता फलोअपका लागि अस्पताल जाने गरेको किरणका आफन्त बताउँछन् । अन्तिममा चिकित्सकले थप उपचारका लागि अन्यत्र रेफर गरेका थिए । उक्त समयसम्म खुट्टाका सबै मासु कुहिएर फाल्नु पर्ने स्थितीमा पुगेको र अहिले काठमाडौंकै एक अस्पतालमा उपचारपछि नियमित फलोअपमा रहँदा लाखौ रकम खर्च भएको भन्दै आफन्तहरुले उपचारमा लापरवाही गर्दा यस्तो स्थिती आएको भन्दै क्षतिपूर्ति माग गरेका छन् ।
बिरामीका दाजु दिवाकर थापाका अनुसार अस्पतालले सुरुमा क्षतिपूर्ति बापत उपचार खर्च दिने मौखिक सहमती गरे पनि हाल आएर उक्त सहमती अनुसार क्षतिपूर्ति दिन नमानेपछि आफूहरुले अस्पताल घेराउ गर्नुपरेको दाबी गरे ।
अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले भने क्षतिपूर्ति दिने विषयमा कुनै पनि सम्झौता नभएको दाबी गरे । उपचारका क्रममा कुनै कमजोरी भएमा कानूनी उपचार खोज्ने बाटो खुला रहेको बताउँदै उनले त्यसका लागि आफूहरु तयार रहेको बताए ।
अस्पतालका हाड जोर्नी तथा नशारोग विभाग प्रमुख प्रकाश रानाभाटले पीडित भनिएका बिरामीलाई मानवीय हिसावले केही सहयोग गर्न आफूहरु तयार रहेको तर क्षतिपूर्ति दिन नसकिने प्रतिक्रिया दिए । गल्ती नै नगरी क्षतिपूर्ति दिन नसकिने उनको भनाइ छ । बिरामीको अवस्था र आर्थिक स्थिती अनुसार मानवीय समवेदनाका हिसाबले केही सहयोग गर्ने कुरा मात्रै हो ।’–उनलेे भने, ‘यदी उहाँहरुले हामीलाई गल्तीनै गरेको ठान्नुहुन्छ भने कानूनी उपचार र अनुसन्धानका लागि हामी तयार छौं ।’
शुक्रबार ठूलो भिडसहित अस्पताल घेराउ गर्न आएका समूहलाई भोली शनिबार छलफलका लागि बोलाउने सहमतीपछि घर फर्काइएको थियो ।
अस्पतालमा बारम्बार क्षतिपूर्तिको मागसहित आउन थालेपछि ईलाका प्रहरी कार्यालय बुटवललाई सुरक्षाका लागि १ महिनाअघि निवेदन दिइएको अस्पतालका प्रशासन प्रमुख सन्तोष गुप्ताले बताए ।
विगत ५ महिनादेखि अस्पताल र बिरामीका आफन्त बीच क्षतिपूर्तिको विषयमा विवाद हुँदै आएको बताइएको छ ।








