बुटवल,२७ बैशाख ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीमाथिनै छानबिन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

प्रेस युनियन रुपन्देहीद्वारा विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई लुकाउने र चाेख्याउने प्रयास गर्दै आएको दाबी गर्दै त्यस्तो कार्य जारी राखे प्रधानमन्त्रीमाथी पनि छानबिन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन् ।

सरकार समग्र संबैधानिक निकायलाई कब्जामा लिएर आफू अनुकूल निर्णय गराउने दुस्प्रयास गरिरहेकाे भन्दै नेता महरले वर्तमान सरकारबाटै कानुनी शासनको उपहास गरिरहेको आराेप लगाए ।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रबी लामिछानेमाथि छानविनको माग गर्दै महरले यस विषयमा सरकारले नजरअन्दाज गर्नु प्रधानमन्त्री प्रचण्डका लागि पनि घातक हुनसक्ने धारणा राखे ।

सत्तामा रहेका दलहरु सहकारीका ठगहरुलाई कारबाही गर्नभन्दा सत्ता बचाउतर्फ केन्द्रीत रहेको आरोप लगाउँदै उनले ‘सरकार रुल अफ ल’को विपक्षमा लागेकाले प्रधानमन्त्री प्रचण्डमाथि पनि छानविनको प्रक्रिया अघि बढ्न सक्ने बताए । यसैगरी संसद सुचारू गर्ने विषयमा काँग्रेस लचकता अपनाउन तयार भएपनि रबी लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान कायम रहेको बताए ।

गठबन्धन बिना पनि पार्टीलाई अघि बढाउन सकिने दाबी गरे । काँग्रेसले अब प्रतिपक्षमै बसेर पार्टी जीवनलाई सुधार गर्नुपर्ने पक्षमा आफू रहेको उल्लेख गरे ।

प्रेस युनियन रूपन्देहीका सभापति कबिन्द्र नेपालकाे सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कपिल ज्ञवालीकाे सहजिकरणमा भएको थियो ।