पाल्पा,२६ बैशाख ।
कानुन दिवसको अवसरमा लोकतान्त्रिक कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) पाल्पाले विरामीहरुलाई फलफूूल वितरण गरेको छ ।

७२ औं कानुन दिवसकाे अवसर पारेर डिएलए पाल्पाले बुधबार जिल्ला अस्पताल पाल्पामा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

डिएलएका पदाधिकारी, नेपाली काँग्रेसका नेता, काँग्रेसका विभिन्न भातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु अस्पतालमै पुगेर विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले डिएलएले फरक ढंगले कार्यक्रम गरेर दिवस मनाएकोमा खुसी व्यक्त गरे । उनले सुदृढ, पहुँचयुक्त र जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकासमा कानुन दिवसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सभापति श्रेष्ठले स्वच्छ, निष्पक्ष, छिटो, छरितो एवं गुणस्तरीय न्याय सम्पादन र प्रभावकारी सेवामार्फत् सुदृढ एवं भरोसायोग्य न्याय प्रणालीको स्थापना र विकासका लागि प्रतिवद्ध भएर लाग्न लोकतान्त्रिक कानुन व्यवसायीहरुलाई आग्रह समेत गरे । उनले भने,‘न्याय नपाएर छटपटिएका सर्वसाधारणलाई छिटो न्याय दिने गरी काम गर्नुहोस् ।’

डिएलए पाल्पाका अध्यक्ष शिवप्रसाद देवकोटाले अन्य औपचारिक कार्यक्रम भन्दा पनि विरामीहरुको मनोभावनामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको बताए । उनले नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको बताए । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो ।

न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन डिएलएले हरेक वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएको अध्यक्ष देवकोटाको भनाई छ ।

उनका अनुसार जिल्ला अस्पतालका ९ जना विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।