काठमाडौँ,२६ बैशाख ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले
आफुहरूसँगै बहुमत सदस्य रहेको दाबी गरेका छन् ।

उनलेे व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण पार्टी विभाजन भएको बताए ।

पार्टी विभाजनपछि आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण पार्टी विभाजन भएको बताउदै पार्टी विभाजन गर्ने कुनै आधार नभएको बताए ।
उनीहरुले पार्टी बिभाजन गर्नुपर्नाकाे कारण देखाउन नसकेको भन्दै उनले कसलाई के पुगेको छैन त्यो आफुलाई भनेको भए दिने उल्लेख गरे ।

उनलेे भने, ‘पार्टी विभाजन गर्नेमध्ये एक जनालाई कार्यवाहक अध्यक्ष नै दिएर गएको थिए, एक जना मन्त्री नै हुनुहुन्छ, अरू सांसद नै हुनुहुन्छ, एक जना संसद्को सचेतक नै हुनुहुन्छ नपुगेको के थियो र ।’

उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष यादवले भने, ‘उहाँहरूले मागेको कुरा मैले दिन सकिन तर कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो उहाँले दिँदा वा लिँदा हुन्थ्यो नि, कसले रोकेको थियो, पार्टीको कुनै पनि बैठकमा यस्ता कुराहरू उठेन, कसैले उठाउनु पनि भएन ।’

‘पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद छैन, साङ्गठनिक मतभेद छैन, पद र जिम्मेवारी बाँडफाँटको मतभेद छैन, सरकारमा जाने आउने विषयमा मतभेद छैन भने पार्टी विभाजनको एउटै कारण हो व्यक्तिगत महत्त्वाकाङ्क्षा’, उनले भने,‘उहाँहरूले विल्कुल व्यक्तिगत महत्वकाँक्षाले पार्टी विभाजन गर्नुभएकाे हो ।’

आफू संसदीय दल, केन्द्रीय समिति, कार्यकारिणी समिति सबै ठाउँमा बहुमतमा रहेको दाबी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगले अवैधानिक ढङ्गले पार्टी विभाजन गराएको आरोप लगाए ।

‘पार्टी विभाजन भएको छैन, केही व्यक्ति बरालिएका छन्, उनीहरू गल्ती सुधार गरेर फर्के भने पार्टीमा स्वागत गर्न तयार छौँ’–उनले भने ।