काठमाडौँ,२४ बैशाख ।
राष्ट्रिय समावेशी आयोगले कृषि क्षेत्रमा सरकारले उपलब्ध गराएको अनुदान प्रभावकारी नभएको जनाएको छ । आयोगले गरेको अध्ययनका क्रममा कृषि क्षेत्रमा सरकारले उपलब्ध गराएको अनुदान प्रभावकारीरुपमा प्रवाह नभएको देखिएको आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताइन् ।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । कार्यक्रममा ‘राम्रो नेपाल’का प्रमुख दिवाकर पौडेलले अनुसन्धान पत्र प्रस्तुत गर्दै सातौँ कृषि जनगणनामा ९३ प्रतिशत किसान सरकारी अनुदान बाहिर रहेको पाइएको बताए । नीतिगत स्पष्टता नहुँदा अनुदानको सही ठाउँमा प्रवाह नभएको पाइएको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेलले अनुदान वितरण पारदर्शी बनाउन स्थानीय सरकार बढी चुस्त हुनुपर्नेमा जोड दिए । कृषि अनुसन्धान प्रतिष्ठान (नार्क)का प्रवक्ता लुमानिधी पाण्डेले प्रत्येक वडामा कृषि अनुदानसम्बन्धी सेवा प्रदानका लागि कार्यालय आवश्यक भएको बताइन् ।

समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले यहाँ प्राप्त भएका कृषिसम्बन्धि सुझाव सरकार समक्ष पेश गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।