पोखरा,२३ बैशाख ।
गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई प्रदेश सभा बैठकमै कालोझण्डा देखाइएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले सभामुखलाई कालोझण्डा देखाएका हुन् ।

सभामुख धितालले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेसका प्रदेश सभा सदस्यहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । प्रदेशसभामा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । तर सभामुखले ३० सांसदलाई नै बहुमत घोषणा गरिदिएका थिए ।

सभामुखको उक्त घाेषणापछि कांग्रेसका प्रदेश सभा सदस्यहरूले संवैधानिक मर्यादा कायम गर, असंवैधानिक प्रक्रिया मान्दैनौँलगायतका नारा लगाउँदै कालोझण्डासहित प्रदर्शन गरेका थिए ।