बुटवल,१७ वैशाख ।
नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा यातायात ब्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डे रहेका छन् ।
उनलाई साेमबार सीआईबीले पक्राउ गरेको हो ।
यससँगै नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा पक्राउ पर्नेकाे संख्या तीन पुगेको छ ।
साे प्रकरणमा यसअघि गत शुक्रबार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरि भट्ट पक्राउ गरेका थिए ।
पक्राउ परेकाहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको छ । आइतबार भट्ट र अर्यालविरुद्ध ५ दिनको म्याद थप भएको हो । सोमबार पक्राउ गरेका पाण्डेलाई भने मंगलबार अदालतमा उपस्थित गराउने प्रहरीको भनाइ छ ।
यो समूहले ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालय ल्याइएका लाइसेन्सहरुको कीर्ते गरी सोही नम्बरमा अर्को लाइसेन्स जारी गर्दै बिक्री गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । एउटा केशबाट प्रहरीले यो प्रकरणलाई अघि बढाएको छ । थुप्रै लाइसेन्सहरु यसैगरी जारी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुविरुद्ध सरकारी लिखत कीर्तेको कसुरमा सीआईबीले अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका सबै सरकारी कर्मचारी भएकाले उनीहरुले क्षेत्राधिकार बाहिर गएर सीआईबीले पक्राउ गरेको भन्दै म्याद थप गर्न नहुने जिकिर गरेका थिए । स्मार्ट लाइसेन्समा डिजिटल कीर्ते हुने र त्यसबारे कानुनमा समेत प्रष्ट उल्लेख नभएको भन्दै म्याद थप गर्न नहुने तर्क उनीहरुको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत १ लाख भन्दा बढी लाइसेन्समाथि छानबिन गरिरहेको छ । सोही छानबिनका लागि भन्दै आईटी इन्जिनियर अर्याललाई काजमा अख्तियारले आफ्नो कार्यालयमा लगेको थियो ।
यातायात व्यवस्था विभागले उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा समति गठन गरी नक्कली लाइसेन्सबारे छानबिन गरेको थियो । विगत ८ वर्षमा १ लाख भन्दा बढी नक्कली लाइसेन्स जारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।