नवलपरासी,१७ वैशाख ।
पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाकाे बेलहानीमा श्रीमान श्रीमती मृत फेला परेका छन् ।

मध्यबिन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी निरीक्षक शर्माका अनुसार अन्दाजी ६५ वर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५५ वर्षीया मिना कुमाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

कुमालको नयाँ घर बनाउन आउने कामदारहरुले बिहान अबेरसम्म घरका मान्छे नउठेपछि खोजी गर्दा दुवै जना मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । तुलबहादुर कुमाल गएराति १० बजेसम्म छिमेकीहरुसँग नै सकुशल अवस्थामा रहेका स्थानीयले बताए ।

श्रीमती मिना कुमालको टाउकामा चोट लागेको छ भने श्रीमान तुलबहादुर कुमाल झुण्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । स्थानीयले भने श्रीमान्ले श्रीमतीको हत्या गरी आफू पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने बताएका छन् । श्रीमान श्रीमतीबिच बेलाबेलामा झगडा हुने गरेको स्थानीयकाे भनाइ छ ।

हत्याको आशंका रहेकोले घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घरमा अन्य आफन्त कोही नभएको र अहिले नै घटनाको बारेमा केही भन्न नसकिने प्रहरी निरीक्षक कमल परियारले बताए ।