नवलपरासी,१६ वैशाख ।
भारतीय नम्बर प्लेटकाे ट्रकले स्कुटरलाई ठक्कर दिंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

सुनवल नगरपालिका-१२ भुमहीचोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी ५५ बीटी २५४६ नम्बरको ट्रकले आज बिहान साढे १० बजे सोही दिशातर्फ जाँदै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि बसेकी गुल्मी घर भई सुनवल-१३ सुन्दर बस्ती बस्ने ३७ वर्षीय कमला घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको लागि पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्कुटर चालक सुनवल-१३ सुन्दर बस्तीकै ५५ वर्षीय कर्णबहादुर गुरुङ घाइते भएका छन् । उनको सामुदायिक अस्पताल भुमहीमा उपचार भइरहेको छ ।

ट्रक चालक भारत आजिङगढ बस्ने ३१ वर्षीय श्रवण यादवलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।