पाल्पा,१५ बैशाख ।
पाल्पाको तानसेनमा आयाेजित संघ र प्रदेश सभामुखहरूको भेला सम्पन्न भएको छ ।

तीन दिनसम्म चलेको भेला ७ बुँदे पाल्पा घाेषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी भेलाले गरेका निर्णय सार्वजनिक गरिएको छ ।

भेलाले अन्तरप्रदेश व्यवस्थापिका मञ्चलाई सक्रिय बनाउने निर्णय गरेको छ । मञ्चले विगतका सम्मेलन, भेला, अन्तरक्रिया र कार्यक्रमका निष्कर्ष, प्रतिवद्धता र घोषणाहरूलाई कार्यान्वयन गराउन भूमिका निर्वाह निर्णय गरेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए ।

मञ्चमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका सभामुख र उपसभामखु, सातै प्रदेशका सभामुख र उपसभामुख सदस्य रहनेछन् । आगामी दिनमा मञ्चले नै बैठक तथा कार्यक्रम गर्ने भेलाकाे निर्णय छ ।

त्यस्तै भेलाले संसद् र संसदीय समितिको भूमिकालाई प्रभावकारी बनाउन संसदबाट निर्मित कानुनहरूको उत्तर विधायिकी परीक्षण हुनुपर्ने निर्णय गरेको छ । यसका लागि संघीय संसदले उत्तर विधायिकी परीक्षण सम्बन्धमा प्रदेश सभाका समिति र सचिवालय जनशक्तिलाई क्षमता अभिवृद्धिमा सहयोग र सहजीकरण गर्न संघीय संसद र प्रदेश सभा सदस्यहरूबीच सहकार्य गर्ने निर्णय भएको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ ।

उत्तर विधायिकी परीक्षण गर्नका लागि आवश्यक कार्यविधि, मापदण्ड तथा मार्गदर्शन बनाउन संघीय संसद सचिवालय र सबै प्रदेशसभा सचिवालयबीच एक आपसमा सहयोग, सूचना, ज्ञान आदानप्रदान गर्ने र प्रदेश सभाले आफ्नो नियमावलीमा उत्तर विधायिकी परीक्षणको विषयलाई राख्ने व्यवस्था गरिने घाेषणा पत्रमा उल्लेख छ ।

यी व्यवस्थालाई कार्यान्वयन गर्न सरकार तथा सम्बन्धित प्रदेश सरकारसँग आवश्यक छलफल र निर्णयका लागि पहल गर्ने निर्णय पनि भेलाले गरेको छ ।

संसदीय बजेट सेवा कार्यालय स्थापना गर्नुपर्नेमा जाेड दिदै भेलाले त्यसका लागि संघीय संसदका महासचिवको नेतृत्वमा सचिवालयका सचिव र सातै प्रदेशका सचिव रहनेगरी एक अध्ययन समिति गठन गर्ने र समितिले तयार गरेको अध्ययन प्रतिवेदनलाई आगामी भेलामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारको स्थिरता कायम गरी सुशासन र विधिको शासनलाई जीवन्त बनाउन वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन अध्ययन, बहस र छलफलका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने भेलाकाे निर्णय छ ।

लुम्बिनी प्रदेश सभाको आयोजनामा पाल्पाको तानसेनमा भएको भेलामा प्रतिनिभि सभाका सभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे लगायत ६ प्रदेशका सभामुख र उपसभामुखको सहभागिता रहेको थियो । अर्को भेला गण्डकी प्रदेशमा हुने सभामुख घर्तीमगरले बताए ।