गुल्मी,१४ बैशाख ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाकाे गौंडाकोटदेखि बिरबासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल तम्घास-रिडी सडकखण्डअन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ म्यालपोखरीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गुल्मीदरबार गाउँपालिका–३ राजाका अनिलराज घर्ती रहेका छन् ।
दुर्घटनामा घाइते भएका घर्तीलाई उपचारका लागि गुल्मी जिल्ला अस्पताल ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए ।
त्यस्तै दुर्घटनामा गुल्मीदरबार–४ भट्टेचौरका ३० वर्षीय यमबहादुर सूर्यवंशी घाइते भएका छन् ।
घाइते सूर्यवंशीको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।