बुटवल १२ बैशाख ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने तथा चालक सहचालकलाई स्वरोजगारसमेत बनाउने उद्देश्यका साथ संचालित तिन दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय देशका बिभिन्न स्थानमा सवारी दुर्घटना बढिरहेको अवस्थामा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.बुटवलले सवारी चालक तथा परिचालकहरूलाई प्रशिक्षण कार्यक्रम गरेको हो ।
सडक दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने मात्र नभै मजदुरहरुलाई स्वरोजगार बनाउने र क्रमशः गाडी धनी बनाउने लक्षसहित प्रा.लि.मा आबद्ध चालक तथा सहचालकहरूलाई प्रशिक्षण सञ्चालन गरिएको प्रा.लि.ले जनाएको छ ।

प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले सवारी दुर्घटना हुनुका पछाडि यात्रु, अन्य सडक प्रयोगकर्ता, सवारी साधन, भौगोलिक तथा सडकको अवस्था, छाडा चौपाया, मौसमको गडबडी लगायत धेरै कारण हुने भए पनि सवारी साधनको चाबी चालकको हातमा हुने भएकोले जिम्मेवारी पनि धेरै चालककै धेरै हुने उनिहरुले बताएका छन् ।

सडक र सवारी साधनको अवस्था र यात्रुहरूको मनोविज्ञानलाई बुझेर गाडी चलाउने हो भने दुर्घटना न्यूनीकरण गर्न सकिने बताउँदै प्रशिक्षकहरुले सवारी धनी, यात्रु र चालकलाई एकरूपतामा नहेर्दासम्म सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिने भएकाले सवारी सहजीकरण, यात्रुमैत्री र सुरक्षित यात्राका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको सुझाव दिएका छन् ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक कुवेर कडायतले अधिकांश सवारी दुर्घटना लापरवाहीकै कारण हुने गरेको बताए । चालक, सहचालक, पैदल यात्रु प्रहरी प्रशासन लगाएत नियमनकारी निकाय, सरकार सबै सरोकारवाला पक्ष गम्भिर भएमा सवारी दुर्घटना न्यूनिकरण हुने दावी गर्दै डिआईजी कडायतले हरेक दुर्घटनाको पछाडी कसै न कसैको लापरवाही हुने गरेको बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले धार्मिक कार्य, जन्म र मृत्युपछिको दाहसंस्कारको लागि समेत सवारी चालकको भरमा यात्रा गर्नुपर्ने भएकोले यो पेशा मात्र नभई पुण्यको काम भएको उल्लेख गर्दै पेशालाई सम्मानित बनाइरहने दायित्व चालकहरूको हातमा रहेको बताए । मानव जिवनसँग प्रत्यक्ष जोडिएको पेशा भएकोले थप जिम्मेबार र गम्भिर हुनुपर्ने कुरामा अध्यक्ष खरेलले जोड दिएका छन।

खरेलले प्रा.लि.ले चालक तथा मजदुरहरूको श्रमको सम्मान गर्ने सवालमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै चालकहरूकै आर्थिक सुरक्षाको लागि दुर्घटना बीमासँगै जीवन बीमाको योजना अगाडि सारिएको बताए । प्रालिले आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समिति गठन गरी २०६६ सालदेखि नियमित रूपमा चालक सहचालक केन्द्रित प्रशिक्षण सञ्चालन गर्दै आएको छ।

आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समितिका संयोजक नारायण प्रसाद घिमिरेले १५ वर्षसम्म नियमित प्रशिक्षण सञ्चालन गर्दा प्रालिमा आबद्ध सवारी साधनहरूको दुर्घटना १५ प्रतिशतले न्यूनीकरण गर्न सकिएको बताए । घिमिरेले यो अवधिमा ८ हजारभन्दा बढी चालक तथा परिचालकलाई प्रशिक्षण दिइएको दाबी गरे। घिमिरेले प्रालिमा बोलाएर दिइने यसप्रकारको प्रशिक्षण सामान्य मानिए पनि महत्वपूणर् रहेको बताए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक प्रयोग सम्बन्धी जानकारी दिँदै दुर्घटना न्यूनीकरणमा चालकको भूमिका र प्रतिबद्धता महत्वपूर्ण हुने बताइन् । उनले सार्वजनिक सवारी साधनको स्टेयरिङमा बसेपछि यात्रा गर्ने सबै यात्रुहरू मेरै आफन्तहरू हुन् र उनलाई सकुशल गन्तव्यमा पुर्‍याउने जिम्मेवारी मेरो हो भन्ने बुझेर सवारी साधन चलाउने हो भने दुर्घटना कम गर्न सकिने बताइन् ।
जीवनयापनको लागि गरिने जुनसुकै पेशा तथा व्यवसायमध्ये सवारी चालक पेशा सबभन्दा महत्वपूणर् पेशा रहेकोले यसलाई सबभन्दा सम्मानित पेशा बनाउने जिम्मेवारी चालकहरूको रहने बताइन्। पाण्डेले सडकमा पर्खिएर बसेका एक दुईजना यात्रुलाई भेट्टाउने नाममा गरिने अस्वस्थ प्रतिष्पर्धाका कारण दुर्घटनाको जोखिम बढ्ने भएकोले यात्रु भेट्टाउने नाममा प्रतिस्पर्धात्मक चालक नबन्न सुझाव दिइन् ।

प्रालिका संचालक जितेन्द्र खत्रीले सिकाइ निरन्तर हुने तर्क दिँदै स्वरोजगार चालक बन्न प्रशिक्षण फाइदाजनक भएको बताए । रुपान्तरित प्रालिमा हाल २ हजार २ सय बस करिब ६ हजार चालक तथा सहचालकहरु आवद्ध छन् ।