ललितपुर, १२ बैशाख ।
ललितपुरको गोदावरी नगरपालिकाकाे आयोजनामा प्रथम उपत्यकाब्यापी खुल्ला अन्तर नगर मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
मेयर कप फुटबल प्रतियोगितामा काठमाडौंका ९ स्थानीय तह, ललितपुरका ५ र भक्तपुर १ टिम गरि कूल १५ टिमको सहभागीता रहने नगरपालिकाले जनाएको छ ।
सम्बन्धित स्थानीय तहका खेलाडीहरुले मात्र सहभागी हुन पाउने साे फुटबल फुटबल प्रतियोगिताले स्थानीय खेलाडीहरुको खेल स्तर उकास्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने काममा टेवा पुर्याउने उदेश्य बोकेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए ।
आम नागरिकको जनजीवन सहज बनाउने र सरल पहुँच दिने, बिकास निर्माण साथै दैनिक सेवा सुविधा बाहेक पनि रचनात्मक क्रियाकलाप मार्फत नगरपालिकालाई परिचित गराउन प्रतियोगिताको आयोजना गर्न लागेको मेयर महर्जनले बताए । उनका अनुसार प्रतियोगिता बैशाख १५ गते देखि सुरु हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न ४८ लाख बजेट खर्च हुने बताउदै मेयर महर्जनले विजेता टिमलाई नगद रू. ५ लाख, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेता टोलिले नगद रु. ३ लाख,मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी गराए । यसका साथै अनुशासन टोलिलाई रु. ५० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वार्ड, सर्वाधिक र उत्कृष्ट प्रशिक्षकलाई २५/२५ हजार नगदले सम्मान गर्ने छन् ।
यसै सन्दर्भमा प्रतियोगितामा वडा नं. १४ का अध्यक्ष निरोज वज्राचार्य संयोवक रहने गरि विज्ञहरुको प्रतियोगिता कार्यान्वयन समिति पनि गठन गरिएको उनलेे जानकारी गराए ।
साे समितले १५ टिम, ३ सय फुटबल खेलाडी, ८ निर्णायक र १०१ स्वयंसेवक र सहयोगीहरु छनौट गरेकाे छ ।
नगरपालिकाका प्रवक्ता मिलन सिलवालका अनुसार अन्तर नगरपालिका मेयर कप बैशाख १५ गते देखि शुरु हुनेछ ।
गोदावरी नगरपालिका वडा नं. १० स्थित ताहाखेल, झ्यालेन्टारमा रहेको आफ्नै रङ्गशालामा खेलाइने फुटबल प्रतियोगिता राष्ट्रिय योजना आयोगको प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको नगरपालिकाले जनाएको छ ।