धनगढी,२ बैशाख ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकै दुई जनाले दाबी पेस गरेका छन् ।

कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन भने एमाले माओवादीसहितको समर्थनमा कैलाश चौधरीले दाबी पेस
गरेका छन् ।

दुबै जनाले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेस भएपछि मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सकस परेको छ ।

लक्ष्मणकिशोर नाउपाको रेशम चौधरी पक्षधर हुन् भने कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् । नाउपाका सांसद चौधरी र श्रेष्ठ पक्ष विभाजित छन् । श्रेष्ठ केन्द्रीय सत्ता गठबन्धनमा छन् भने रेशम त्यसको विपक्षमा छन् । रेशम पक्षधरलाई कांग्रेसले सहयोग गरेको छ । त्यसमा राप्रपा र एकीकृत समाजवादी पनि मिसिएको नेताहरूले बताएका छन् । कैलाश चौधरीलाई एमाले र माओवादीको समर्थन छ ।

दोहोरो दाबी परेपछि आज मुख्यमन्त्री नियुक्ति नहुने सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले बताए ।

मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको १० दिनको समय आज ५ बजे सकिएकाे छ ।