दाङ,२६ चैत ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । सरकार परिवर्तन भएसंगै उपाध्यक्ष डा.केसी पदबाट राजिनामा दिएका हुन् ।
उनले सोमबार मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा-पत्र बुझाएका छन् । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्षमा तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले डा. केसीलाई नियुक्त गरेको थियो ।
मिति २०८० वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रदेश योजना आयाेगकाे उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका–६ निवासी केसीले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् । उनीसंगै आयोगका सदस्यहरु डा. सुरजकुमार वली, सरोज खनाल र गिता केसीले पनि राजीनामा दिएका छन् ।
डा. केसीले करिब एक बर्षकाे अवधिमा सातै प्रदेशका योजना आयोगहरुको राष्ट्रिय भेला मार्फत प्रदेशमा रहेका योजना सम्बन्धी राष्ट्रिय, प्रदेश तथा स्थानीयतहका योजनाको अन्तरसम्बन्धमा लुम्बनी घोषण-पत्र, लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुना र लुम्बिनीको दिगो कृषि विकास रणनीति तयार गरेको बताए ।
त्यस्तै उनलेे दोस्रो आवधिक योजनाकाे आधार-पत्र तयार गरी आयोगको बैठकबाट स्वीकृत गरेको, आयोगमा तथ्यांकीय प्रणालीको शुरुवात, योजना बैंक निर्माणको आधारपत्र तयार गरिएको र मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधी र कार्यक्रम दस्तावेज तयार गरिएको बताए ।
लुम्बिनी प्रदेशका विकास साझेदार निकायसंग छलफल, प्रदेशको स्राेत र प्रादेशिक सम्भावना तथा रणनीति तयार लगायतका महत्वपूर्ण काम गरेको उनकाे दाबी छ ।








