स्वतन्त्र प्रेसमाथि अंकुस लगाउने कार्य स्वीकार्य नहुने चेतावनी बुटवल,२० बैशाख ।
३३ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अबसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाकाे आयोजनामा बुटवलमा प्रेस स्वतन्त्रताको पक्षमा प्लेकार्ड प्रदर्शन गरिएको छ ।

आइतबार बुटवलको ट्राफिक चाेकमा आयोजित कार्यक्रममा पत्रकार तथा बिभन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले बर्तमान सरकार प्रेस स्वतन्त्रता प्रति अनुदार हुन खाेजेकाे आशंका पैदा भएको भन्दै प्रेस स्वतन्त्रता बिराेधी कदम स्वीकार्य नहुने बताए ।

प्रदर्शनमा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनाल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामराज पोखरेल/ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, शान्ति समाज रुपन्देहीका पुर्व सभापति दिवाकर घिमिरे, बुटवल टुडेका प्रबन्ध निर्देशक नवराज कुवर, शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवाली लगायतले बोल्दै प्रेस स्वतन्त्रतामा अन्कुश लगाउने कुनैपनि कार्य स्वीकार नहुने औल्याउँदै प्रेसलाई निरुत्साहित होइन, प्रोत्साहन गर्न सरकारसँग आग्रह गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ सस्थाका अध्यक्ष,पदाधिकारी, शान्ति समाजका केन्द्रिय पदाधिकारी/सदस्य, तथा रुपन्देहीका पुर्व सभापतिहरु, संचारजगत,पत्रकार,अभियान्ताहरुले ऐक्यबद्धता जनाएका थिए ।

साे अवसरमा प्रेस स्वतन्त्रता सहित मानवअधिकार तथा नागरिक स्वतन्त्रताको पक्षमा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।