तीनैजना मन्त्री बिनाबिभागिय
बुटवल,२५ चैत ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरा र तीन मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

आइतबार बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा आयाेजित कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री महरासहित तीन मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले आजै प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त गरेका थिए ।

महरा नेतृत्वको मन्त्रिपरिषदमा पहिलो चरणमा नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका दिपेन्द्र पुन (सिजल) ले मन्त्री पदको सपथ ग्रहण गरेका छन् । उनिहरूले बिनाबिभागिय मन्त्रीकाे रूपमा सपथ लिएका हुन् ।

सपथ ग्रहणपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिदै मुख्यमन्त्री महराले गठवन्धन दलहरूसँग छलफल गरेर जतिसक्दो छिटो मन्त्रीपरिषदलाई पुर्णता दिने बताए ।

धेरै दलको समर्थनमा सरकार गठन गर्दा सानो आकारको मन्त्री मण्डल बनाउन कठिन भए पनि धेरै ठूलो मन्त्री मण्डल नबनाउने उनको भनाइ छ ।

बर्तमान सत्ता गठवन्धनलाई माओवादीसहित एमाले, जसपा,नाउपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले समर्थन जनाएकाे महराको दाबी छ ।

लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रवार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए। महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन् ।महरा लुम्बिनी प्रदेशका पाँचाै मुख्यमन्त्री हुन् ।

सपथ ग्रहण कार्यक्रममा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी,पुर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लिला गिरी, प्रदेशसभाका सभामुख तुलाराम घर्ती लगायतको सहभागीता रहेको थियाे ।