बुटवल,२५ चैत ।
आज गठन हुने लुम्बिनी प्रदेश मन्त्रीपरिषदमा नेकपा माओवादी केन्द्रबाट दिपेन्द्र कुमार पुन मन्त्री बन्ने भएका छन् ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराकाे नेतृत्वमा गठन हुने मन्त्रीपरिषदमा साे पार्टीबाट पुन सहभागी हुने भएका हुन् ।
पुनलाई माओवादी केन्द्रले यसअघिको डिल्ली बहादुर चाैधरी नेतृत्वको सरकारमा सहभागी गराउने निर्णय गरे पनि कांग्रेसको बिराेधका कारण मन्त्री बन्न सकेका थिएनन् ।
गत निर्वाचनमा तत्कालीन गठवन्धन बिरूद्व स्वतन्त्र उम्मेदवारी दिएर राेल्पाबाट चुनाव जितेका पुन पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।
महरा नेतृत्वको सरकारमा एमालेबाट चेतनारायण आचार्यले प्रतिनिधित्व गर्दैछन् भने जसपाबाट निर्तमान मन्त्री भण्डारीलाल अहिर पुन मन्त्री बन्ने भएका छन् ।
नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूकाे सपथ आज दिउँसो पौने दुई बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने तयारी छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखमबहादुर महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदसहित दशवटा मन्त्रालय रहेका छन् ।








