बुटवल,२५ चैत ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् ।

आज दिउँसो पौने दुई बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुख अमिक शेरचनका प्रमुख स्वकीय सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखमबहादुर महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन् । सबै सत्ता साझेदार दलबाट कम्तिमा एक–एक जनालाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

सरकार गठनका लागि सत्ता साझेदार दलका नेताहरुबीच अहिले छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज सुदर्शन बरालले मन्त्री छनोटका विषयमा छलफल भइरहेको जानकारी दिए ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदसहित दशवटा मन्त्रालय रहेका छन् ।