सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बन्नुपर्नेमा जाेड
बुटवल,२५ चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले आराेप लागेपछि कुनै पनि नेता छानबिनकाे दायरामा आउनुपर्ने बताएका छन् ।
उनलेे सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय बन्नुपर्ने आवश्यकता औल्याए ।
नेपाल प्रेस युनियन रूपन्देहीद्वारा आज बुटवलमा आयाृजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले प्रजातान्त्रिक व्यवस्था प्रश्न उठेपछि संसदीय छानबिन गरेर प्रस्ट पार्नु स्वाभाविक रहेको बताएका हुन् ।
उनले नेपाली कांग्रेसले सोही अनुसार संसदमा विरोध गरेको प्रस्ट पारे । सांसदले प्रश्न उठाएपछि विगतमा मन्त्रीहरूले राजिनामा दिएको बताउदै उनलेे कांग्रेसका मन्त्री रामशरण महत,नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका जनार्दन शर्मा,एमालेका गाेकुल बास्काेटा लगायत राजीनामा दिएको स्मरण गरे ।
उनले संघ र प्रदेशमा जनप्रतिनिधिकाे संख्या आधा घटाउनुपर्ने र कर्मचारी समेत कटौती गर्नुपर्नेमा जाेड दिए ।
अहिले रहेका ३६ हजार जनप्रतिनिधि घटाएर १८ हजार बनाउनु पर्ने उनको भनाइ थियो ।
भण्डारीले प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित र राष्ट्रिय सभा समानुपातिक समावेशी बनाउनु उपयुक्त हुने धारणा राखे ।
उनलेे राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने ब्यवस्था गर्नुपर्ने बताए ।
नेपाल प्रेस युनियन रूपन्देहीका सभापति कबिन्द्र नेपालकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे सचिव कपिल ज्ञवालीले सहजिकरण गरेका थिए ।








