बुटवल,२४ चैत ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य चन्द्र भण्डारीले अबको निर्वाचनमा भ्रष्ट नेताहरुलाई हराउन मतदाता एकजुट हुनुपर्नेमा जाेड दिएका छन् ।
भ्रष्टाचारका कारण मुलुककाे आर्थिक अवस्था जर्जर भएको भन्दै उनलेे आगामी निर्वाचनमा भ्रष्ट नेताहरूलाई हराएर नयाँ तथा उर्जावान नेताहरूलाई जिताउन मतदाताहरू एकजुट हुनुपर्नेमा जाेड दिए ।
शनिबार बुटवलमा आयाेजित होटल तथा रेष्टुरेण्ट ब्यवसाय संघ रूपन्देहीको २३ औं साधारण सभामा बोल्दै भण्डारीले अब मन्त्री, सांसद र जनप्रतिनिधिको संख्या घटाउने बेला आएको बताए । देशमा उठेको राजश्वले कर्मचारीलाई तलब खुवाउन समेत नपुग्ने अवस्था रहेको भन्दै उनले चालु खर्च घटाउन मन्त्री ,सांसद र जनप्रतिनिधिको संख्या घटाउनुपर्ने आवश्यकता औल्याए ।
सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु समस्यामा परेकाे भन्दै उनलेे जनप्रतिनिधिलाई तलब खुवाउनकै लागि सवारी साधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको बताए । देशमा लात्ताले हान्न पुग्ने गरी मन्त्रीको संख्या रहेको टिप्पणी गर्दै सांसद भण्डारीले ३६ हजार तलबी जनप्रतिनिधिलाई १८ हजारमा झार्नुपर्नेे बताए ।
देशमा स्थानीय तहदेखि प्रदेश हुंदै केन्द्रसम्म तलब खाने जनप्रतिनिधि अत्यधीक धेरै भएकाले आधा घटाउनुपर्ने बताउँदै उनले सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्रै देश बन्ने दाबी गरे । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको उदाहरण दिँदै सांसद भण्डारीले कमिसन खानका लागि विदेशबाट ऋण लिएर पूर्वाधारमा अन्धाधुन्द लगानी गरिएको आरोप लगाए ।
‘सत्तामा हुँदा जनताको काम गर्लान् भनेको सन्तानलाई सुन तस्करी गर्न सिकाउँछन्’,भण्डारीले भने,‘यस्ता नेताहरूबाट देश बन्छ भनेर कहिलेसम्म कुरिरहने ?’ ३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्नुपर्ने बेला आएको छ । जसले घुस खाँदैन उसलाई छान्नुस् त मुलुक बन्छ कि बन्दैन भन्दै उनलेे नेताको दास बनेर होइन सच्चा कार्यकर्ता बनेर उनिहरूका गलत क्रियाकलापकाे बिराेध गर्नुपर्ने बताए ।
चर्को कर र बैंक ब्याज दरका कारण नेपालको कृषि र अन्य व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको बताउँदै भण्डारीले विद्यार्थीकालदेखि राजनीति गरेका नेताहरू पार्टी छाड्नुपर्ने राजनीतिसँग सराेकार नभएकाहरू सांसद र मन्त्री बनेर मुलुक कसरी चल्छ भनी प्रश्न गरे ।
हाेटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस नेता बिष्णु पाेखरेल,पत्रकार महासंघका अध्यक्ष रामराज पाेखरेल, संघका उपाध्यक्ष माधव खनाल,महासचिव अर्जुन जिसी लगायतले बाेलेका थिए ।








