बुटवल,२३ चैत ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश सभामा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सहित ४८ प्रदेश सभा सदस्यकाे समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका महरा लुम्बिनी प्रदेशको पाचौं मुख्यमन्त्री हुन् ।

एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ सांसदले महरालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दावी पेश गरेका थिए । त्यसको केही समय पछि नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेश सभा सदस्यले पनि महरालाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले दलहरूको दावीलाई सदर गर्दै शुक्रबार नै महरालाई मुख्यमन्त्री नियुक्ति गरेका हुन् । तर शपथ भने आइतबार मात्रै गरिने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख शेरचनले महरालाई मुख्यमन्त्री नियुक्ति गरेको जनाइएकाे छ ।