बुटवल,२२ चैत ।
भन्सार छलेर भित्र्याइएकाे ३ सय ५ बाेरा केराउ भैरहवाबाट प्रहरीले बरामद गरेकाे छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टाेलीले बिहीबार दिउँसो सिद्वार्थनगर नगरपालिका- ४, सुगरमिलबाट उक्त केराउ बरामद गरेकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरका अनुसार कपिलवस्तुकाे सुठाैंली भन्सारबाट ४५ बाेरा मकैकाे भन्सार गरेर त्यसमै ठूलाे परिमाणमा केराउ भित्र्याइएकाे अनुसन्धानबाट खुलेकाे छ ।
मकै बाेकेकाे भनिएकाे यूपी१५सीटी८१९८ नम्बरकाे ट्रक जाँच गर्दा १५ लाख २५ हजार मूल्यकाे ३ सय ५ बाेरा केराउ बरामद भएकाे हाे । ट्रकमा रहेकाे ८६ हजार ६ सय २५ रुपैयाँ मूल्य बराबरको ४५ बाेरा मकैकाे मात्र भन्सार गरिएको पाईएकाे छ ।
बरामद मकै, केराउ र १८ लाख मूल्य बराबरकाे ट्रक समेत गरि ३४ लाख ११ हजार ६ सय २५ रुपैयाँका सामाग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ ।







