परासी,२२ चैत ।
मुख्यमन्त्री अन्तर प्रदेश पुरुष कबड्डी खेलको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।

पश्चिम नवलपरासीको सुनवलमा भएको फाइनल प्रतिस्पर्धामा सुदुरपश्चिम प्रदेशलाई २८ अंकका विरुद्ध ६३ अंकले पछि पार्दै लुम्बिनीले उपाधि हातपारेको हो ।

जिल्ला खेलकुद विकास समिति र कबड्डी संघ नवलपरासीको आयोजनामा भएको प्रतियोगीतामा सात वटै प्रदेशका समूह सहभागी थिए ।

प्रतियोगिताको विजेता लुम्बिनी प्रदेशले नगद १ लाख ५० हजार र उपविजेता सुदुरपश्चिम प्रदेशले १ लाख नगद , शिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगीताको उत्कृष्ट खेलाडी लुम्बिनीका घनश्याम रोका भए ।

जिल्ला खेलकुद समिति नवलपरासीका अध्यक्ष रितमान कामु मगरका अनुसार विजयी समूह र खेलाडीलाई लुम्बिनी प्रदेशका सांसद खडग बस्नेतले पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।