२ वर्ष कैद र साढे ८ लाख रुपैयाँ जरिवाना
बुटवल,२० चैत ।
इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दाेषी ठहर भएका छन् ।
उनलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले अन्तिम फैसला सुनाएको हो । अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिवानाको फैसला गरेको छ ।
बुटवलमा कार्यरत रहँदा डीएसपी केसीको निवासबाट अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नगद र सुन बरामद गरेको थियो । अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
२०७९ साल मंसिर २५ गते बुटवल उपमहानगरपालिका– ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले यस बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले दाबी गरेको थियो ।
पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैसँग राखेकाे अख्तियारकाे दाबी थियाे । त्यसक्रममा केसीले दुई जनासँग १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।
केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएका बुटवलका खिलेन्द्र सिंह जिसीलाई पनि विशेष अदालतले दोषी ठहर गर्दै साढे १ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवानाको फैसला सुनाएको छ ।
अभियोजनमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका–४ लक्ष्मीनगरका जिसीविरुद्ध अख्तियारले विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो । जिसीले केसीलाई सफाइ हुने नियत राखेर अदालतमा बयान फेरेको अख्तियारले दाबी गरेको छ । अख्तियारको दाबीलाई विशेष अदालतले सही ठहर्याउँदै जिसीलाई पनि कसूरदार ठहर गरेको हो ।








