दाङ,२० चैत ।
लुम्बिनी प्रदेशमा अबदेखि आँखाको नानी प्रत्यारोप निशुल्क हुने भएको छ ।

प्रदेशका १२ जिल्लाका सर्वसाधारण कसैको पनि आँखाको नानी प्रत्यारोपमा लाग्ने सबै खर्च प्रदेश सरकारले बेहोर्ने भएको हो ।

साे सेवाको मंगलबार तुलसीपुरमा एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले शुभारम्भ गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले एक जना ब्यक्तिको नानी प्रत्यारोप गर्न २४ हजार तीन सय १० रुपैंया लाग्ने र त्यो सबै खर्च अबदेखि प्रदेश सरकारले बेहोर्ने जानकारी गराए ।

गरिबीका कारण उपचार गर्न नसकी दृष्टि गुमाएका हरेक नागरिक अन्धकारमा बस्नु नपरोस, उनीहरुको दैनिकी असहज नबनोस् भन्ने उदेश्यले निशुल्क रुपमा नानी प्रत्यारोपमा लाग्ने सबै खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरिएको मन्त्री खनालले वताए ।

आँखा अस्पतालका एकेडेमिक चिफ डा. सुरेश रसाइलीले तुलसीपुर स्थित राप्ती आँखा अस्पताल रक्षाचौरमा मात्रै दुई बर्षको अवधिमा एक सय जना ब्यक्तिको आँखाको नानी प्रत्यारोप गरिएको भएपनि नानी ल्याउँदा धेरै प्राबिधिक रुपमा कठिनाईहरु झेल्नु परेको वताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्मा, मन्त्रालयका स्वास्थ्य सचिव डा जनार्दन पन्थी, राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारी, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरी लगायतले आँखा उपचार र गुमेको आँखाको ज्योति फर्काउने सवालमा राप्ती आँखा अस्पताल रक्षाचौरले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए ।

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग एवम नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, तुलसीपुर दाङको प्राविधिक सहयोगमा निशुल्क आँखाको नानी प्रत्यारोपण कार्यक्रम सुरु गरिएको हो । प्रदेशका सम्बन्धित पाँच वटा आँखा अस्पतालहरुमा यस्तो सेवा निशुल्क उपलब्ध हुने छ ।

अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।