पाल्पा,१९ चैत ।
नेपाल किसान महासंघ पाल्पाकाे अध्यक्षको जिम्मेवारी जगन्नाथ अर्यालले पाएका छन् ।
जिल्लाको शैक्षिक, सामाजिक, राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका अर्याललाई नेपाल किसान महासंघ केन्द्रीय कार्यालयले अध्यक्षको जिम्मेवारी दिएको हो ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका सक्रिय किसान अर्याललाई महासंघले जिल्ला अध्यक्षमा मनोनयन गरी जिम्मेवारी प्रदान गरेको छ ।
महासंघका केन्द्रीय अध्यक्ष गणेश चन्द्र तिम्लिसिनाले जिल्लामा महासंघको संगठन विस्तार एवं आगामी जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने जिम्मेवारीसहित
अर्याललाई अध्यक्षमा मनोनयन गरेकाे मनाेनयन पत्रमा जनाइएको छ ।
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महासंघले मनोनयन गरेको पत्र अर्याललाई हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण गर्दै सभापति श्रेष्ठले एक इमान्दार, लामो समय काँग्रेसमा योगदान दिएका पुराना र सक्रिय व्यक्तिको रुपमा मल्याङ्कन गरेर महासंघले अर्याललाई जिल्लाको जिम्मेवारी प्रदान गरेको बताए । उनले किसानहरुको हितमा इमान्दारीताका साथ काम गर्न र संगठन विस्तारमा लाग्न अध्यक्ष अर्याललाई आग्रह समेत गरे ।
जिल्ला अध्यक्षमा मनोनीत भएका अर्यालले जिम्मेवारी अनुरुप काम गर्ने प्रतिवद्वता जनाएका छन् ।
उनलेे साना मझौला तथा ठूूला सबै किसानहरुको हकहितका निमित्त निरन्तर लडिरहेने प्रतिवद्धता व्यक्त गरे ।
केन्द्रले तोकेकै समयमा जिल्लाका सम्पुर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरूको अधिवेशन गराई संगठन विस्तारमा सक्रिय भएर लाग्ने अर्यालले बताए । उनी लामो समय शिक्षण पेशासँगै किसानी कार्यमा समेत आवद्ध रहेका छन् । अर्यालल अहिले पनि सफल किसानका रुपमा परिचित छन् । उनले नेपाली काँग्रेसको प्रशिक्षण र शिक्षा विभाग सदस्यको रूपमा कूशल जिमेवारी निर्वाह गर्दै आएकाे नेपाली कांग्रेस पाल्पाले जनाएको छ ।








